केहि ले भन्दै थिए त्यसबेला मलाई
नजाउ त्यो दलदलमा, नलेउ त्यो धारिलो पद
तिमीलाई दिएर दरवार
भोली बनाउनेछन् घर न घाटको
भोली उभ्याउनेछन् धारिलो तरवार माथि
ठान्नेछन् आँफूहरु जस्तै नकाम र लठ्ठक-
तर मैलेपनि त थाहा पाउनु थियो
तिनको सक्कली चेहेरा
तिनको सफेद छाला भित्रको कालो मन
हो मैले जोखिम लिएको हुँ र होमिएको हुँ
यो भयानक युद्धमा –
सुन्नुस्…..
बोल्दैछु फेरि पनि त्यहि सत्य
उभिएर जनताको कठ्घरामा
खोलेर पट्टि लाएर तराजु बोक्नेहरुका आँखा
जसले मलाई अपराधी बनाए
ठग, तस्कर र दलाल बनाए
भ्रष्टाचारी अनि दुराचारी बनाए
तिनै असली थिए, त्यो नै असलियत थियो
जसले बारम्बार आफ्नो अनुहार ऐनामा हेर्दै
मलाई दोषी करार गरेका थिए।